निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी | पुस ११, २०८२

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी:  मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । 


मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट ल्याएको कोलमा हरेक वर्ष पुष र माघमा उखु पेल्ने चलन छ । रामबहादुरका छोरा नातिहरूले पनि हलगोरुको सहायतामा कोल घुमाउने पुरानो चलन र परम्परालाई निरन्तरता दिएका छन् ।


रामबहादुरका नाति ध्रुव खत्रीले उखु पेल्ने विद्युतीय उपकरणको विकास भए पनि कोलमा उखु पेल्ने चलन अझै कायमै रहेको बताउनुभयो । 


“त्यसबेला काठको कोलमा उखु पेल्न दुःख भएपछि हाम्रा हजुरबुबाले भारतबाट ल्याएको कोलका पाटपुर्जा नाउडाँडाबाट भरियाले पाँच दिन लगाएर यहाँ ल्याउनुभएको रहेछ”, उहाँले भन्नुभयो, “एक सय किलोग्राम तौल भएको तीनवटा पाटपुर्जा ल्याएपछि यस क्षेत्रका किसानलाई उखु पेल्न सजिलो भएको थियो ।”


सिमलचौरका दलबहादुर जिसी, गणेशबहादुर जिसी र चाउरे कामीले नाउडाँडाबाट कोल बोकेर सिम ल्याउनुभएको थियो । त्यसबेला ग्रामीण क्षेत्रमा गुलियोका लागि उखुको रस पकाएर बनाइने खुदो प्रयोग हुन्थ्यो । त्यसबेला गुलियोका लागि पनि घरैपिच्छे उखुखेती गर्ने चलन थियो । पुर्खाले सुरु गरेको कोल हाल्ने चलनलाई आफूहरूको पालामा पनि निरन्तता दिएको खत्रीले बताउनुभयो । 


कोलमा उखु पेलेबापत १० लिटर बराबर रु एक सय शुल्क तोकिएको छ । उखु पेल्न पालो लगाउनुपर्छ । सो कोलमा उखु पेल्न बाबियाचौर, कुहुँ, अर्मन, बरंजाका साथै बेनी नगरपालिका र मालिका गाउँपालिकाबाट किसानहरू आउने गरेका छन् ।


मङ्गला गाउँपालिका–२ तोराखेतका श्रीकृष्ण पौडेलले उखुको रसबाट बनाएको खुदोलाई धार्मिककार्यका साथै मानिसलाई घाँटी दुखेको र गाईभैँसी बिरामी भएमा औषधिका रूपमा खुवाउने चलन छ । गर्मीमा खुदो मिसाएको पानी पिउँदा शीतल हुने उहाँको अनुभव छ ।


मानिस वा गोरुले तेर्सो पारिएको काठलाई घुमाउएर मुडा र फलामबाट बनाइएको कोल चलाउने गरिन्छ । गोरु नभएको अवस्थामा मानिसले काठ घुमाउने गर्दछन् । फलामको कोलको बीचमा उसु राखेर काठ घुमाएपछि रस झर्ने गर्छ । कोल चलाउन दुईदेखि तीन जना जनशक्ति आवश्यक पर्छ ।


कोलमा पेल्दा धेरै रस आउने, शुद्ध, स्वस्थ हुने उपभोक्ता राजाराम उपाध्यायले बताउनुभयो । कोलमा पेलेर निकालिएको उखुको रस पकाएर खुदो बनाउने गरिन्छ । चिनीको उपलब्धता नहुँदा गाउँघरमा गुलियोगका लागि खुदो प्रयोग हुन्थ्यो । खुदोलाई पूजाआजामा पनि प्रयोग गरिने मङ्गला गाउँपालिका–२ सिमलचौरकी रूपा जिसीले बताउनुभयो ।


विवाह, व्रतबन्धका लागि लड्डु र कसार बनाउनका लागि खुदो आवश्यक पर्छ । यसैगरी देवीदेवतालाई प्रसादका रूपमा पनि खुदो चढाउने चलन छ । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्